नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र…
अरुले जस्तै सोचे भने त, फरक के भयो म र अरुमा?
त्यसैले होला, अरुभन्दा फरक विचार राख्ने गर्छु म त।
पागल जस्तो तर्क गरे भने, फरक के भयो म र अरुमा?
त्यसैले भिन्दै खालको पागल बन्ने कोशिस गर्छु म त।।
मैले पनि थोरै बुझेको छु राजनीति, साहित्य, र संगीत।
तिनीहरूका सन्देश, स्तर,र लेखन शैलीहरू पनि।।
मेरो लेख्ने तरिका तिम्रो भन्दा फरक परेका नै होलान!
नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।।
अनौठो जीवन यात्रामा, हामी आफ्नै किस्सिम ले खेल्छौं।
न दाँज है तेसरि मलाई तिम्रा आफ्ना शैली र स्तरहरूसँग।।
म त अरुभन्दा भिन्दै सरल शैली र सोच बोकेको मान्छे।
नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।।
मेरा भोगाईका किताबहरुमा एउटा फरक इतिहास छ।
त्यसैले, आदर र अनुग्रहका साथ छेउछाउमा हिडौं।।
जीवनले बहुआयामिक अनुहार लगाउँछ भन्ने बुझेर।
नगर्नुहोस् न्याय मलाई, साथी, तिम्रो मापदण्ड भित्र।
कविता न.७६ /डिपी शर्मा मैनाली/हेग,नेदरल्याण्ड्स/२०८०
( कबि नेपाली मूलका डच नागरिक हुन्। हाल उनी द हेग युनिभर्सिटी, नेदरल्याण्डमा सहप्राध्यापकको रूपमा कार्यरत छन्। नेपाल, नेपाली साहित्य, संगीत र पूर्वी दर्शनमा कलम चलाउनुका साथै मैनाली सामाजिक अभियन्ता, नेदरल्याण्ड्सको नेपाली भाषी इन्जिनियर्स एसोसिएसनका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको विश्व संजालका सल्लाहकार पनि हुन्।)