Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

परदेश बाट आयो 'नेपाल आमालाइ चिठि'

मंगलवार, १६ जेष्ठ २०८०, कलीउड अपडेट.
आमा, बर्षौं भयो तिमी देखि टाढा भएको पनि। थाहा छैन त्यो गाउँ शहर कस्तो भयो। देउराली डाँडा, त्यो माने भन्ज्यांग अनि ती नैनी तालहरू पक्कै पनि मेरो बाटो कुरी रहेका होलान। बाग्मती, नारायणी अनि काली गण्डकी पनि उस्तै सुसाईरहेका होलान। त्यो माछापुच्छ्रे अनि धौलागिरीको मुस्कान अझै पनि यी आँखा वरिपरी झल्झली आईरहन्छ आमा। तिम्रो त्यो न्यानो काखको मायाको सम्झनाले सताएर होला आज एउटा सानो चिठी लेख्ने हिम्मत जुटाउँदै छु आमा। यदि लेख्दै जाँदा काही कतै त्रुटि गरे भने यो अन्जान छोरोलाई क्षमा दिनु है आमा।आजकल त तिम्रो हाल खबर के छ भनेर सोघ्ने सम्म आँट हराई सक्यो आमा। तिमीलाई तिम्रै सन्तान जेठा, माईला अनि साईसाहरूले दिनु सम्म दिएको दुख र पिडा सुनेर मेरा कयौ रातमा आँशुले सिरानी भिजेका छन। आफ्नै कोखबाट जन्मिएका सन्तान राक्षस भए पछि खै कस्को के लाग्दो रहेछ र। दिनै तिम्रो छातीमा ती नरपिशाचहरूले लात मारेको सुन्दा यो परदेशीको मन छिया छिया भएको छ।

स्वर्ग जस्तो सुन्दर घरमा दानवहरूले सत्ता चलाएको सुन्दा , अनि तिम्रा ति निर्दोष छोरीहरूलाई आकाशे गिद्धहरूले सिनो लुछे झै लुछी लुछी बलत्कार गरेको देख्दा यी आँखाहरू अपवित्र भएका छन। मन कुँडिएको छ, तिमीलाई चिठी लेख्ने यी हातहरू काँपेका छन।ती भ्रष्ट अनि नरभक्षी सन्तानले आफ्नै दाजु भाई र चेलीहरूलाई लुटी लुटी राज गरेको सुन्दा र तिम्रो धनसारलाई रित्तो बनाएको खबरले साँच्ची नै स्तब्ध भएको छ यो अन्जान मुटु। धड्कन रोकिएको छ आमा तर पनि आफैमा बाच्ने हिम्मत जुटाएर यो पत्र कोरी रहेको छु। सकेसम्म यो हाल खबर सबैलाई सुनाई दिनु है आमा। अब तिमीले पनि हिम्मत जुटाएर भनी दिनु कि तिमीहरू जस्ता राक्षसले झारेका ती गरीब अनि निर्दोष चेलीका आँशुले एक दिन महासागर भएर बगाउने छ, आफ्नै मझेरी बेचेर कमाएको पैसाले चितामा तिमीहरूलाई हाँसी हाँसी जलाउने छ। अनि यो पनि सुनाई दिनु आमा आफ्नै सन्तान बेचेर कमाएको त्यो कालो धनले एक दिन रमाई रमाई कात्रो किन्ने छ , तिमीलाई संसार नदेख्ने गरी तिनै कात्रोले ढाक्ने छन।कयौ निर्दोष सन्तानका हत्याराहरूलाई संरक्षण गरेर राखेका ती हातहरूले एक दिन तिम्रै हातमा हतकडी लगाउने छन। आमा मलाई थाहा छ तिमीले यो चिठी पढेर सुनाँउदा तिम्रा ती जेठा, माईला अनि साईँलाहरू जंगीने छन, आक्रोसले जल्ने छन तर पनि आमा नडराइ यी सन्देशहरू सुनाई दिनु है। आफ्नै आमाको दुध चुसेर विष ओकल्ने ती गोमनहरूलाई सात समुन्द्र पारि उडी रहेका गरूड़हरूले नियाली रहेका छन , समय संगै तिमीहरूलाई पनि लुछीलुछी ती गरूड़ले आफ्नो आहार बनाउने छन। भ्रष्टाचारले मौलाएका ति तिम्रा पेटहरू पक्कै पनि रविको तापले भष्म गराउने छ अनि स्वर्णिम युगको सुरूवात हुनेछ।

आमा खै कति लेखौं चिठी पनि तिमीले पाएका अनगिन्ती चोटहरू सम्झदा यो अन्जान पुत्रलाई पृथ्वीले नै थिचे जस्तो भान हुन्छ तर पनि केहि सन्देश अझै छोड्ने अनुमति दिनु है आमा। फेरि पनि सुनाई दिनु आमा ती भष्मासुरहरूले बेचेका उद्योग कल कारखानाहरूका मालिकहरू फेरि पनि तिनै लुटेराहरूको साहु बनेर ऋण असुल्ने छन अनि दलालहरूले बेचेको कोसी र महाकालीले हाँसी हाँसी तिन्कै अस्तु बगाउने छन। म जस्ता कयौं अन्जान पुत्रहरूलाई बाध्य बनाई आमाको काखबाट टाढा भएकाहरू अब चाडै घर फर्कने छन अनि तिनै राक्षसहरूको मलामी बनेर श्मशान घाट सम्म पुग्ने छन।ती दलालहरूले गरेका काला कर्तुतहरूको पर्दाफाश गर्नेछन अनि राम राज्य चलाउने छन। अभिभावकको हत्यारालाई हतकडी लगाउने छन् निर्मला जस्ता कयौ चेलीका बलत्कारीलाई फाँसी दिने छन्, बेचिएका अनि बेचिन बाध्य बनाईएका सन्तानहरूले अस्तित्व जोगाउने छन, ती राक्षस, दलाल, भ्रष्ट, नरपिशाच नरभक्षीहरूलाई जीवनभर कालो कोठरीमा हतकडी लगाएर राख्ने छन किन कि आमा पाप अब धुरीबाट कराई सक्यो।
आमा लेख्दा लेख्दै हातहरू पनि थाकी सके छन्, मध्यरात पनि भैसके छ। बाँकी कुरा अर्को चिठीमा लेखौला। मेरो कुनै चिन्ता नलिनु है आमा। आफ्नो ख्याल राख्नु होला । म यता पराईको गुलामीबाट मुक्त हुन युद्ध गरिरहेको छु। अवश्य पनि तिम्रो आशीर्वादले मेरो र म जस्ता हजारौ अन्जान सन्तानहरूको विजय हुनेछ अनि छिट्टै तिम्रो मुहारमा मुस्कान छर्न आउने छौ। सन्तानले जति पिडा दिए पनि आखिर तिमी मुस्कुराइ रहेकी हुन्छौ, त्यसैले त फेरि भन्न मन लाग्छ आमा तिमी धर्ती हौ।
अस्तु
उही परदेशी अन्जान पुत्र
(हरि उप्रेती- गीतकार/ साहित्यकार USA)

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू