मेरो घरमा एउटा रेडियो छ
जुन रडियो निरन्तर बजी.… रहन्छ
बटारी हेर्छु
कहिले त्यो रेडियो ठू..लो बज्छ
कहिले सा..नो बज्छ
कहिले त कान चिर्ने गरी पनि बज्छ
मेरो घरमा एउटा रेडियो छ
जुन रडियो सँधै बजी... रहन्छ
मेरो रेडियोमा
कहिले गाउँ भरीको समाचार बज्छ
कहिले देश विदेशको समाचार बज्छ
बज्छ यो रेडियोमा अरु पनि धेरै कुरा बज्छ
दुखियाको कथा बज्छ
धनी गरीबको कथा बज्छ
धर्म सम्प्रदायको भजन कीर्तन बज्छ
अत्याचारीको कथा बज्छ
भ्रष्टाचारीको नाता बज्छ
वीरमानको गाथा बज्छ
भुँडे र लुतेको नियती बज्छ
मेरो घरमा एउटा रेडियो छ
जुन निरन्तर बजी ...रहन्छ।
हिज आज त
कुनै दिन यो रेडियो बजेन भने पनि
खै ! के सुनिनँ…. के गरिनँ भने जस्तै लाग्छ
हुँदा पनि झिँजो लाग्ने
नहुँदा पनि पट्यार लाग्ने
तर नभई नहुने
मेरो घरमा एउटा रेडियो छ
जुन निरन्तर बजी ... रहन्छ ।
अब त रेडियो सुन्ने पनि बानी परेछ
साच्चै लत नै लागेछ
खै के जादू छ
यो रेडियो
ब्याट्री लगाउँदा पनि बज्छ
ब्याट्री नहुँदा पनि बज्छ
चार्जर नहुँद झनै धेर बज्छ
खै ! यो रेडियो
जतिखेर पनि बजी रहन्छ
यो रेडियो सुनेर
कहिले हाँस्न मन लाग्छ। हाँस्छु
कहिले रुन मन लाग्छ । रुन्छु
कहिले कराउन मन लाग्छ। कराउछु
कहिले डराउन पर्ने हुन्छ। डराउछु
कहिले काहीँ त
यो रेडियो
नबजीदिए पनि शान्ति हुन्थ्यो जस्तो लाग्छ
तर के गर्ने ?
विकल्पविहीन यो स्रोता
रेडियो सुनी … रहन्छ
सुनेर !
उठ भन्दा उठ्छ
बस भन्दा बस्छ
हिँड भन्दा हिँड्छ
यो आज्ञाकारी स्रोता
रेडियोकै भरमा घर चलाउँछ
रेडियो को कुरा नसुनी
जीवन कहाँ त्यसै चल्छ
मेरो घरमा एउटा रेडियो छ
जुन रेडियो सधैँ बजिरहन्छ
--- कर्ण गुरुङ (अमेरीका) ----